इतिहास

सबै भन्दा पहिले नेपालमा कृषि पेशामा संलग्न भएको जातिको रूपमा परिचित रहेकोले ‘थौर’ शब्दबाट थारु थर रहेको भन्ने भनाइ रहेको पाइन्छ। थौर भनेको मैदानी भाग भन्ने बुझिन्छ, मैदानी भागमा बस्ने भएकोले थारु भएको भन्ने भनाइ रहँदै आएको छ।

नेपालको इतिहासमा थारु जातिहरूको छुट्टै पहिचान छ। जस्तै भेषभुषा, साँस्कृतिक, कला, धर्म, रीतिरिवाज हरू छन्। खाँ थारु, चौधरी, राउत, माझी, बसार, धामी, गच्छदार, सरदार, मण्डल, राना, भगत, थन्दार, फनैत, तब्दार, मोदी, खवास, थरुनी, हलदलिया, विश्वास र थनैत सिंह थर भएकाहरू थारु भित्र पर्दछन्। थारु समुदायमा शिक्षित व्यक्तिहरू कम रहेको र खेतीपातीमा बढी ध्यान दिएकोले यी जातिको पहिचान तथा विकास हुन सकेको पाइँदैन।

थारु समुदाय तराइको सबै भन्दा ठूलो एकल जातिय समुदायको रूपमा देखिन्छ र नेपालको चौथो स्थान रहेको छ। हाम्रो पूर्वजहरूको भनाइ अनुसार थारुहरू सबै भन्दा पहिला भारतबाट कपिलवस्तु हुँदै नेपालको मेची देखि महाकाली सम्म बसोबास गरेको रामानन्द प्रसाद सिँहले आफ्नो लेखमा देखाएका छन्। थारुहरू विशेष गरी कृषि पेशामा आधारित भएकाले अरू पेशामा आफ्नो पहिचान र परिचय बनाउन नसकेको अवस्था पाइन्छ। यसै क्रममा कतिपय थारुहरूले आफ्नो ठाउँबाट सरेर अर्को ठाउँ गई आफ्नो थर परिवर्तन गरेर बस्दै आएको पाइन्छ।